नाइमा मोबिलिटी एक्स्पोः पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा पहिलो दिन दर्शकको उल्लेख्य सहभागिता देखिएको हो ।

दोस्रो संस्करणको एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन प्रदर्शनमा राखिएका छन् । आयोजकका अनुसार पहिलो दिन मात्रै विभिन्न ब्रान्डले ४८ नयाँ मोडल तथा उत्पादन सार्वजनिक गरेका छन् । विद्युतीय कार, ई-स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधनदेखि पेट्रोल तथा हाइब्रिड प्रविधिका नयाँ सवारीसाधनसम्म एक्स्पोका आकर्षण बनेका छन् ।

एक्स्पोमा निसानले नयाँ एसयूभी ‘टेकटन’, चेरीले नेपालमा पहिलोपटक ‘क्यूक्यू’ ब्रान्डअन्तर्गतको क्यू३ तथा बीएआईसीले हाइब्रिड एसयूभी बीजे३० सार्वजनिक गरेका छन् । क्यू३ को कम्फर्ट भेरियन्टको मूल्य ३० लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने बीएआईसी बीजे३० को मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।

त्यस्तै, हुन्डाईले प्रिमियम विद्युतीय एसयूभी ‘आयोनिक ९’ र भेन्युको फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । आयोनिक ९ को मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ तथा भेन्यु फेसलिफ्टको बेस भेरियन्टको मूल्य ४८ लाख ९६ हजार र हाइ भेरियन्टको ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

बीवाईडीले पनि एक्स्पोको अवसरमा एट्टो सिरिजका अपग्रेडेड मोडल सार्वजनिक गरेको छ । एट्टो १, एट्टो २ र एट्टो ३ मा नयाँ तथा थप सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ। एट्टो १ मा ३६० डिग्री क्यामेरा, एट्टो २ मा नयाँ ‘इसेन्सियल’ भेरियन्ट तथा एट्टो ३ मा फेसलिफ्ट संस्करण ल्याइएको छ ।

एक्स्पोमा टाटा मोटर्सको सहभागिताले पनि दर्शकको ध्यान तानेको छ। टाटाको स्टलमा टियागो ईभी र पन्च ईभीको फेसलिफ्ट संस्करण हेर्न ठूलो भीड देखिएको थियो । चेरीको क्यूक्यू स्टलमा पनि नयाँ ब्रान्ड, मूल्य र प्रविधिका कारण युवादेखि पारिवारिक ग्राहकसम्मको चासो देखिएको आयोजक तथा व्यवसायीहरूले बताएका छन् ।

एक्स्पोको उद्घाटन गर्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पो सवारीसाधनको प्रदर्शन तथा बिक्रीमा मात्र सीमित नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने प्रयास भएको बताएकी छन् । उनले पटक-पटक परिवर्तन हुने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेको भन्दै दीर्घकालीन लगानीका लागि स्थिर र पूर्वानुमानयोग्य नीति आवश्यक रहेको बताइन् ।

एक्स्पोमा सवारीसाधन प्रदर्शनसँगै लगानी, वैदेशिक प्रत्यक्ष लगानी र मोबिलिटी क्षेत्रको आर्थिक योगदानबारे छलफलसमेत आयोजना गरिएको छ। पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट : स्मोबिलाइजिङ-फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा प्यानल छलफल भएको थियो।

नाइमा नेपाल मोबिलिटी एक्स्पो अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरेको छ। पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक पुगेपछि आयोजक तथा सहभागी व्यवसायी उत्साहित भएका छन्।