लालबकैया नदीमा डुबेर दुई बालबालिकाको मृत्यु, एक बालिका बेपत्ता

दियोपोस्ट संवाददाता

रौतहट । जिल्लाको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ । देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव बुधबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो लालबकैया नदीमा नुहाउन गएका एक बालक र दुई बालिका बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये रहमतुल्लाह र सवनमको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार उनीहरूको नदीमा डुबेर मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनामा बेपत्ता भएकी अर्की एक बालिकाको भने खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रौतहट पठाइएको छ। बेपत्ता बालिकाको खोजीका लागि प्रहरी तथा स्थानीयवासी परिचालन गरिएको छ।