कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि उक्त रकम सहयोग गरेको हो ।

बैंकका अनुसार सहयोग रकम विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ।

नेपाल सरकारअन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

बढ्दो बिरामीको चाप र सघन उपचार सेवाको आवश्यकतालाई सम्बोधन गर्न सहयोग गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यसबाट नवजात शिशु तथा बालबालिकाका लागि आवश्यक उपचार सेवा र उपकरण व्यवस्थापनमा सहयोग पुग्नेछ।

बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

बैंकले गरेको सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचारको गुणस्तर अभिवृद्धि गर्न, जीवनरक्षा दर बढाउन तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।