
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षाअनुसार भित्रिन नसकेको सरोकारवालाले बताएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले मंगलबार आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’मा सहभागी सरोकारवालाले प्रशासनिक जटिलता, नीतिगत अस्थिरता र निजी क्षेत्रप्रतिको कमजोर विश्वासका कारण विदेशी लगानी आकर्षित गर्न चुनौती भइरहेको बताएका हुन् ।
विदेशी लगानी आकर्षित गर्न सरकारले पहिले आन्तरिक लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाका अनुसार गत वर्ष नेपालमा करिब १२ अर्ब रुपैयाँ एफडीआई भित्रिएको थियो ।
त्यसमध्ये करिब ४ अर्ब रुपैयाँ लाभांशका रूपमा बाहिरिएको उनले बताए । नेपालमा हालसम्मको कुल एफडीआई मौज्दात करिब ३४० अर्ब रुपैयाँ रहेको र त्यसको सबैभन्दा ठूलो हिस्सा भारतको रहेको उनले जानकारी दिए ।
उनका अनुसार उत्पादनमूलक क्षेत्र, जलविद्युत् तथा बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी विदेशी लगानी केन्द्रित छ। यी तीन क्षेत्रले कुल एफडीआईको करिब ८० प्रतिशत हिस्सा ओगटेका छन् ।
तिमिल्सिनाले एफडीआईलाई विदेशी पुँजीका रूपमा मात्र हेर्न नहुने बताए । यससँगै प्रविधि, व्यवस्थापन, सुशासन र अन्तर्राष्ट्रिय अभ्याससमेत भित्रिने भएकाले नेपालले एफडीआईलाई व्यापक दृष्टिकोणबाट हेर्नुपर्ने उनको भनाइ छ।
डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचरले नेपालमा लगानी भित्र्याउनुभन्दा लगानी वा नाफा फिर्ता लैजान झन् कठिन रहेको अनुभव सुनाए। प्रशासनिक झन्झट र नीतिगत अस्थिरताले विदेशी लगानीकर्ता निराश हुने गरेको उनले बताए ।
गोचरका अनुसार नेपालमा लगानी तथा रकम फिर्ता लैजान सयौँ कागजात र प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ। आफूहरूले हालसम्म १० करोड अमेरिकी डलरभन्दा बढी लगानी प्रतिबद्धता गरे पनि नेपालको आवश्यकताका तुलनामा यो पर्याप्त नभएको उनको भनाइ छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि आन्तरिक लगानीको माग कमजोर हुँदा बैंकिङ क्षेत्रमा ठूलो मात्रामा तरलता थुप्रिएको बताए । अहिले करिब साढे १३ देखि १४ खर्ब रुपैयाँ निक्षेप बढी रहेको र ब्याजदर न्यून हुँदा पनि कर्जाको माग बढ्न नसकेको उनले जानकारी दिए ।
उनले व्यवसायीको मनोबल बढाउन वित्तीय अपराध, व्यावसायिक गल्ती र फौजदारी अभियोगलाई फरक ढंगले हेर्नुपर्ने बताए। निजी क्षेत्रको विश्वास जित्न सके मात्रै लगानी र आर्थिक गतिविधि बढ्ने उनको भनाइ छ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले पनि सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताइन्। लगानीकर्तालाई शङ्काको नजरले हेर्नेभन्दा स्वागत गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको जोड छ।
वैद्यले नेपालले सूचना प्रविधि, पर्यटन, उच्च मूल्यका कृषि उत्पादन तथा जलविद्युत्मा आधारित नयाँ उद्योगलाई प्राथमिकता दिनुपर्ने बताइन् । विशेषगरी आईटी र पर्यटन नेपालका लागि बढी सम्भावनायुक्त क्षेत्र रहेको उनको भनाइ छ।
उनले जलविद्युत्को बिजुली निर्यातमा मात्र निर्भर नभई ‘ग्रीन हाइड्रोजन’ र ‘अमोनिया’ जस्ता प्रविधिमार्फत देशभित्रै विद्युत्को खपत बढाउनुपर्ने बताइन् ।
सरोकारवालाले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढाउन नीतिगत स्पष्टता, प्रशासनिक सहजता र लगानीकर्ताको विश्वास कायम गर्ने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।