रोल्पामा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना बेपत्ता

दियोपोस्ट संवाददाता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्।

अविरल वर्षापछि बुधबार बिहान खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको हो।

पहिरोमा परी १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको छ । उद्धारका क्रममा ७१ वर्षीया मनरखी पुन मगरको शवसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ।

लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। जोखिमका बीच सुरक्षाकर्मी र स्थानीयवासीले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।

सम्बन्धित खबर