
काठमाडौं । प्यूठानका विभिन्न खोला किनारमा आज पाँच जनाको शव फेला परेको छ। स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाका विभिन्न स्थानमा ती शव फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका-९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको छ।
त्यसैगरी स्वर्गद्वारी नगरपालिका-३ किमिचौरस्थित माडी खोला किनारमा ढाडभन्दा माथिको भाग मात्रै रहेको एक पुरुषको शव फेला परेको छ। स्वर्गद्वारी-४ गोठीबाङस्थित माडी खोला किनारमा थप एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी-५ सरोजास्थित लुङ्ग्री खोला किनारमा टाउको र खप्पर नभएको तथा बायाँ खुट्टाको घुँडादेखि तलको भाग नरहेको अवस्थामा अर्की एक महिलाको शव फेला परेको छ।
यस्तै, माण्डवी गाउँपालिका-५ अर्थौसस्थित खोला किनारमा थप एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार फेला परेका शवहरू रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारा क्षेत्रमा गएराति पहिरोले घर तथा गोठ पुरिँदा बेपत्ता भएकाहरूको हुनसक्ने आशंका गरिएको छ।
फेला परेका शवका तस्बिर रोल्पा प्रहरीलाई पठाइएको छ। तस्बिरका आधारमा केही शवको पहिचान हुनसक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।