
काठमाडौँ । चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आज बिहान भोटेकोसी गाउँपालिका-२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको हो।
जसले गर्दा चीनबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव प्रभावित भएको हो ।
नदीको बहाव प्रभावित भएकाले जुनसुकै बेला जोखिम निम्तिन सक्ने भन्दै प्रहरीले नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी भोटेकोसी, बाह्रबीसे र बलेफी गाउँपालिका क्षेत्रमा नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।