टाटा मोटर्सले सार्वजनिक गर्‍यो कम इन्धन खपत गर्ने बीएस सिक्स मोडेलका बसका च्यासिस

दियोपोस्ट संवाददाता

धनगढी । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशका यातायातलाई मध्यनजर गर्दै धनगढीमा अत्याधुनिक बीएस सिक्स मोडेलको बसको च्यासिस सार्वजनिक गरेको छ । यात्रुवाहक बसका रूपमा प्रयोग गरिने बसको च्यासिस मंगलबार यातायात समिति, व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बीएस सिक्स प्रविधिको आगमनले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई थप आधुनिक, सुरक्षित र हरित बनाउने दाबी गरेका छन् ।

कार्यक्रममा सिप्रदी मोटर्सले ८ देखि १२ मिटरसम्मका विभिन्न क्षमताका टाटा बीएस सिक्स मोडेलका बसका च्यासिस प्रदर्शन गरेको थियो । सहरी तथा छोटो दूरीका लागि उपयुक्त डे बस र लामो दूरीको यात्राका लागि डिजाइन गरिएका नाइट बसका मोडलहरू व्यवसायीहरूलाई प्रत्यक्ष रूपमा देखाइएको थियो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेलले बीएस सिक्स प्रविधिबारे प्रस्तुति दिँदै नयाँ च्यासिसले कम इन्धन खपत गर्ने, पुरानोको तुलनामा न्यून मात्रामा प्रदूषण गर्ने, उच्च प्रदर्शन र उत्कृष्ट माइलेज प्रदान गर्ने दाबी गरे । पोखरेलले नयाँ बसहरूमा सेलेक्टिभ क्याटालाइटिक रिडक्सन (एससीआर) र आफ्टर ट्रिटमेन्ट सिस्टम (एटीएस) जस्ता उन्नत उत्सर्जन नियन्त्रण प्रणाली जडान गरिएको बताए । यसले वातावरणीय मापदण्ड पूरा गर्नुको साथै इन्जिनको दक्षता समेत बढाउने पोखरेलको दाबी छ ।

यी बसहरूमा शक्तिशाली इन्जिन, उच्च टर्क, कम आवाज तथा कम्पन, बलियो च्यासिस, उन्नत ब्रेकिङ प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सहज डायग्नोस्टिक प्रणाली तथा कम मर्मत खर्चजस्ता सुविधाहरू रहेको सिप्रदीले जनाएको छ । यी विशेषताले बसको सञ्चालन लागत घट्ने र सवारीको उत्पादकत्व बढ्ने सिप्रदीको जिकिर छ ।

सिप्रदी ट्रेडिङले बिक्रीपश्चात् सेवालाई विशेष प्राथमिकता दिएको समेत दाबी गर्दै बीएस सिक्स प्रविधिको सञ्चालन, एडब्ल्यूको सही प्रयोग, इन्धन बचत, सुरक्षित ड्राइभिङ तथा नियमित मर्मतसम्भार सम्बन्धी चालक तालिम निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू गरिने समेत जनाएको छ ।

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले नयाँ बीएस सिक्स बस च्यासिसको प्रत्यक्ष निरीक्षण गरी प्राविधिक विशेषता र सञ्चालनसम्बन्धी जानकारी लिएका छन् । उनीहरूले बीएस सिक्स प्रविधिले सार्वजनिक यातायातमा गुणस्तरीय सेवा, इन्धन बचत र वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने भएकाले आगामी रोजाई बन्न सक्ने विश्वास व्यक्त गरे ।

सिफारिस