कुमारी बैंकद्वारा १० लाख बीमा दाबी रकम हस्तान्तरण

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकको गढवा शाखाले बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

श्रीमती खुमा पौडेलका श्रीमान्को दुर्घटनामा परी दुःखद् निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी बैंकले उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकका अनुसार हस्तान्तरण गरिएको रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक राहत तथा सहारा पुग्ने अपेक्षा गरिएको छ ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यको आर्थिक सुरक्षाप्रति विश्वास बढाउन योगदान पुर्‍याउने बैंकको विश्वास छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने बैंकले जनाएको छ ।