
कास्की । मोदीखोलामा आएको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । उनीहरूको शुक्रबार बिहान ८ः१५ बजे उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट खटिएको रोप-रेस्क्यु तथा गोताखोरसहितको सुरक्षा टोलीले नेपाल प्रहरीसँगको समन्वयमा उनीहरूको उद्धार गरेको हो ।
उद्धार गरिएकामा पोखरा महानगरपालिका-१८, सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका-८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका ५२ वर्षीय पुजारी निर्माण गिरी रहेका छन् ।
प्रहरीका अनुसार पुजारी गिरी भारतीय नागरिक हुन् । उनी विगत पाँच वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा कार्यरत रहँदै आएका थिए ।