नेपाल एक चीन सिद्धान्तप्रति दृढ छः परराष्ट्रसचिव राई

दियोपोस्ट संवाददाता

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव तथा ‘२०२६ नेपाल-चीनमैत्री लघु भिडियो प्रतियोगिता’को पुरस्कार वितरण समारोहमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सचिव राईले दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता तथा एकअर्काका भावना र संवेदनशीलताको सम्मानमा आधारित रहेको बताए ।

उनले वार्षिकोत्सव कूटनीतिक पात्रोको एउटा नियमित कार्यक्रम मात्र नभई नेपाल र चीनबीचको चिरस्थायी सम्बन्धको प्रमाण भएको उल्लेख गरे। सात दशकभन्दा लामो अवधिमा दुई देशबीचको सम्बन्ध परम्परागत मित्रता र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीमा विस्तार भएको उनको भनाइ थियो ।

उच्चस्तरीय भ्रमण तथा विभिन्न तहका आदानप्रदानले नेपाल-चीन सम्बन्धका सबै पक्षमा गतिशीलता थप्दै मित्रता अझ सुदृढ बनाएको सचिव राईले बताए । उनका अनुसार नेपाल र चीनले नियममा आधारित विश्वव्यवस्थाका लागि बहुपक्षीयताप्रति दृढ प्रतिबद्धता जनाउँदै साझा हितका विषयमा विभिन्न बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन्।

असल मित्र तथा नजिकको छिमेकीका रूपमा चीनले हासिल गरेको आर्थिक विकासप्रति नेपाल गौरवान्वित रहेको उल्लेख गर्दै राईले चीनको विकासबाट सिक्दै दुवै देशबीचको आर्थिक सहकार्यलाई थप गहिरो बनाउन नेपाल इच्छुक रहेको बताए ।

उनले विगत सात दशकमा व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धमा उल्लेख्य विस्तार भएको उल्लेख गर्दै ट्रान्स-हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र त्यसको शीघ्र कार्यान्वयनलाई नेपालले उच्च प्राथमिकता दिएको बताए ।

कार्यक्रममा चिनियाँ राजदूत चाङ माओमिङले कूटनीतिक सम्बन्ध स्थापना भएयता अन्तर्राष्ट्रिय परिस्थितिमा जतिसुकै परिवर्तन आए पनि नेपाल र चीनले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको बताए । उनले दुवै देश सुखदुःखमा सँगसँगै उभिने असल छिमेकी, मित्र र साझेदारका रूपमा अघि बढिरहेको धारणा व्यक्त गरे ।

नेपालमा नयाँ सरकार गठन भएयता दुई देशबीचको राजनीतिक पारस्परिक विश्वास थप गहिरिँदै गएको तथा उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अघि बढिरहेको राजदूत माओमिङले बताए ।

उनका अनुसार व्यापार तथा अर्थतन्त्र, पूर्वाधार, सम्पर्क सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्रमा नेपाल-चीन सहकार्यले नयाँ प्रगति हासिल गरेको छ। ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक नेपाल भ्रमणमा आइरहेको उल्लेख गर्दै उनले दुई देशका जनताबीच हुने सामान्य तर न्यानो आदानप्रदान नै नेपाल–चीन सम्बन्धको वास्तविक आधार भएको बताए ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुर्‍याएको स्मरण पनि राजदूत माओमिङले गरे ।

चीनले सधैँ शान्तिपूर्ण विकासको बाटो अवलम्बन गर्दै आएको बताउँदै उनले सबै देशले आफ्नो आकार, शक्ति वा आर्थिक अवस्थाभन्दा माथि उठेर एकअर्कालाई सम्मान, समान व्यवहार र शान्तिपूर्ण सहअस्तित्वको नीति अवलम्बन गर्नुपर्ने धारणा राखे ।

चीन नेपालसँग पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्धलाई थप अघि बढाउन, दुई देशबीच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयन गर्न तथा साझा भविष्यको समुदाय निर्माणलाई अगाडि बढाउन तयार रहेको उनले बताए ।

डिजिटल युगमा छोटा श्रव्यदृश्य सामग्रीले भाषा, दूरी र संस्कृतिका सीमाभन्दा माथि उठेर विषयवस्तुलाई केही सेकेन्डमै व्यापक दर्शकमाझ पुर्‍याउन सक्ने उल्लेख गर्दै राजदूत माओमिङले नेपाल-चीनमैत्री लघु भिडियो प्रतियोगितामा उत्साहजनक सहभागिता भएकोमा खुसी व्यक्त गरे ।

प्रतियोगितामा ठूलो सङ्ख्यामा भिडियो प्राप्त भएको र प्रतिस्पर्धीहरूले नेपाल-चीन सम्बन्धका विविध आयाम तथा दुवै देशका सुन्दर दृश्यलाई प्रस्तुत गरेको भन्दै उनले प्रशंसा गरे । यस्ता श्रव्यदृश्य सामग्रीले नेपाल-चीन सम्बन्धलाई कूटनीतिक दस्ताबेजमा सीमित नराखी जनस्तरको सहकार्य, आदानप्रदान र भ्रमणमार्फत जीवन्त बनाएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल-चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम पुरस्कारसहित रु.५० हजार प्राप्त गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।