सुजुकीको नयाँ ‘एक्सेस १२५ कनेक्टेड’ स्कुटर सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा अटो शो २०२६ मानयाँ सुजुकी ‘एक्सेस १२५ कनेक्टेड’ स्कुटर सार्वजनिक गरेको छ ।

सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको सुजुकी ‘एक्सेस १२५ कनेक्टेड’ स्कुटर सार्वजनिक गरेको हो ।

नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भी.जी. अटोमोबाइल्स प्रालि रहेको छ ।

नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले तथा सुजुकी राइड कनेक्ट सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले स्कुटर चलाउँदा आवश्यक विभिन्न जानकारी सहज रूपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

स्कुटरमा टर्न-बाई-टर्न नेभिगेसन, अनुमानित यात्रा समय, आगमन हुने फोनको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, मोबाइलको ब्याट्री तथा नेटवर्कसम्बन्धी जानकारी, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान र सर्भिस रिमाइन्डरलगायत स्मार्ट सुविधा उपलब्ध छन् ।

एक्सेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन प्रयोग गरिएको छ । दैनिक सहरी यात्रालाई सहज र सुविधाजनक बनाउने उद्देश्यले स्कुटरमा विभिन्न व्यावहारिक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेड मोडलमार्फत नेपाली स्कुटर प्रयोगकर्ताका लागि उपयोगी स्मार्ट प्रविधि भित्र्याइएको बताए ।

उनका अनुसार स्मार्ट कनेक्टिभिटी, सहजता र सुजुकीको विश्वसनीय प्रदर्शनको संयोजनले नयाँ एक्सेस १२५ लाई कम्पनीको उत्पादन पोर्टफोलियोमा थप आकर्षक बनाउनेछ ।

नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ ।