
जाजरकोट । गए राति परेको अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका-१० मा चार वटा घर बगाएको छ ।
प्रहरीका अनुसार तासुघाट खोलामा आएको बाढीले एक वटा खाजा पसल र एक वटा झोलुङ्गे पुलसमेत बगाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल, अस्थायी मनसुन विपद् व्यवस्थापन बेस दल्ली, जाजरकोटबाट खटिएको टोली तथा नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।