सामसङले नेपालमा सार्वजनिक गर्‍यो ‘ग्यालेक्सी जेड फोल्ड-८’ सिरिज

दियोपोस्ट संवाददाता

काठमाडौँ । सामसङ नेपालले नयाँ पुस्ताको कृत्रिम बुद्धिमत्ता प्रविधिसहित ‘ग्यालेक्सी जेड फोल्ड-८’ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले फोल्डेबल फोनसँगै ग्राहकका लागि सहज स्वामित्व, किस्ताबन्दी सुविधा, पुरानो फोन साट्ने योजना र अन्य सेवा समेटिएको एकीकृत प्रणालीसमेत सार्वजनिक गरेको हो ।

सामसङले बिहीबार ग्यालेक्सी जेड फोल्ड-८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड-८ र ग्यालेक्सी जेड फ्लिप-८ का साथै ग्यालेक्सी वाच-९ र ग्यालेक्सी वाच अल्ट्रा-२ सार्वजनिक गरेको जनाएको छ । कम्पनीका अनुसार आठौँ पुस्ताको फोल्डेबल प्रविधिमा डिजाइन, टिकाउपन, सजिलै बोक्न सकिने बनोट र सफ्टवेयरमा उल्लेख्य सुधार गरिएको छ।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड-८ अल्ट्रा र ग्यालेक्सी जेड फोल्ड-८ का ठूला पर्दाले कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोगलाई थप सहज बनाउनेछन् । प्रयोगकर्ताले पटक-पटक विभिन्न एप्लिकेसन परिवर्तन नगरी सामग्रीको समीक्षा, तुलना, सिर्जना तथा आवश्यक काम गर्न सक्नेछन् । ग्यालेक्सी जेड फ्लिप-८ ले भने सानो तथा आकर्षक बनोटमै छिटो कृत्रिम बुद्धिमत्ता अन्तरक्रिया र सिर्जनात्मक अभिव्यक्तिको सुविधा दिने कम्पनीको भनाइ छ ।

नयाँ सिरिजसँगै सामसङले प्रिमियम मोबाइलको स्वामित्वलाई थप सहज र पहुँचयोग्य बनाउन किस्ताबन्दी, पुरानो उपकरण साट्ने सुविधा, दूरसञ्चार सेवा तथा एकीकृत खरिद प्रणालीलाई जोडेको जनाएको छ । एचएफएलमार्फत ४० प्रतिशत अग्रिम भुक्तानीमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा उपलब्ध हुने सामसङले जनाएको छ । योग्य ग्राहकका लागि किस्ताबन्दी अवधि ३६ महिनासम्म पुर्‍याउँदै अग्रिम भुक्तानी २० प्रतिशतसम्म घटाउने लक्ष्य राखिएको छ ।

त्यस्तै, पुरानो मोबाइल साट्दा थप रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले नयाँ फोन खरिद गर्दा सुरुवाती आर्थिक भार घटाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

सामसङले डिजिटल तथा भौतिक बिक्री केन्द्रबीचको सेवालाई पनि एकीकृत गर्ने जनाएको छ । आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ग्राहकको डिजिटल योग्यता जाँच, सुविधा छनोट, अग्रिम बुकिङ, वितरण तथा सामसङका आधिकारिक बिक्री केन्द्रबाट उत्पादन प्राप्त गर्ने प्रक्रियालाई एउटै सहज प्रणालीमा जोडिनेछ । ग्राहकले डिजिटल परिचय प्रमाणीकरण वा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र उत्पादन प्राप्तिसम्मको प्रक्रिया सहज रूपमा पूरा गर्न सक्नेछन् ।

दिगोपनलाई प्राथमिकता दिँदै सामसङले पुराना उपकरणको पुनःप्रयोगमा समेत जोड दिएको छ । पुरानो मोबाइल साट्ने योजनाअन्तर्गत योग्य उपकरणलाई एप्कुडो र स्थानीय साझेदारको सहकार्यमा परीक्षण तथा मूल्याङ्कन गरी पुनःप्रयोग वा पुनःमर्मत गर्न सकिने व्यवस्था गरिएको छ । यसबाट पुराना उपकरणको उपयोगी आयु बढाउनुका साथै विद्युतीय फोहोर घटाउन र पुनःप्रयोगको बजार विकास गर्न योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।

सामसङले एचएफएल, इसेवा, एनसेल, एप्कुडो, रेमिट्यान्स साझेदार, आईएमएस तथा हिम इलेक्ट्रोनिक्सलगायतलाई एउटै सेवा प्रणालीमा जोडेको छ । यसअन्तर्गत वित्तीय सुविधा, दूरसञ्चार सेवा, पुरानो उपकरण साट्ने सुविधा, पुरस्कार तथा एकीकृत बिक्री व्यवस्थापनलाई छुट्टाछुट्टै योजना नभई एउटै प्रणालीका रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

नेपालमा प्रविधि र सीप विकासलाई समेत कम्पनीले प्राथमिकतामा राखेको जनाएको छ । हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा स्थानीय टेलिभिजन उत्पादनलाई सहयोग गर्दै आएको सामसङले ‘सामसङ इनोभेसन क्याम्पस’मार्फत नेपाली युवालाई कोडिङ, प्रोग्रामिङ तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी सीप विकासमा सहयोग गर्दै आएको छ ।

सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जुङले नयाँ ग्यालेक्सी जेड सिरिजमार्फत नेपालमा प्रिमियम प्रविधि भित्र्याउनुका साथै ग्राहकको सम्पूर्ण स्वामित्व यात्रालाई सहज र स्मार्ट बनाउने उद्देश्य रहेको बताए । उनले सुविधा तथा छुटलाई मात्र प्राथमिकता नदिई ग्राहकलाई दीर्घकालीन मूल्य र विभिन्न सेवाको एकीकृत लाभ उपलब्ध गराउने नीति लिइएको बताए ।

नयाँ ग्यालेक्सी जेड सिरिजका लागि अगस्ट १३ देखि अग्रिम बुकिङ खुला गरिएको छ । कम्पनीले विशिष्ट ग्राहकका लागि विशेष र सामान्य गरी दुई प्रकारका अग्रिम बुकिङ प्याकेज सार्वजनिक गरेको छ ।

विशेष अग्रिम बुकिङ प्याकेजमा ६८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ । यसअन्तर्गत एनसेलको दुई वर्षका लागि निःशुल्क असीमित डेटा तथा भ्वाइस सेवा, १५ हजार रुपैयाँसम्मको पुरानो फोन साट्दा प्राप्त हुने थप रकम, ग्यालेक्सी वाच-९ वा वाच अल्ट्रा-२ मा १० हजार रुपैयाँ छुट, गुगल एआई प्रो सेवा ६ महिनाका लागि निःशुल्क, निःशुल्क फोन कभर तथा थप दुई वर्षको वारेन्टी सुविधा छन् ।

त्यस्तै, सामान्य अग्रिम बुकिङ प्याकेजमा ५८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुनेछन् । यसमा दुई वर्षका लागि निःशुल्क एनसेल असीमित डेटा तथा भ्वाइस सेवा, १५ हजार रुपैयाँसम्मको पुरानो फोन साट्दा प्राप्त हुने थप रकम, गुगल एआई प्रो सेवा ६ महिनाका लागि निःशुल्क, निःशुल्क फोन कभर तथा थप दुई वर्षको वारेन्टी सुविधा समावेश छन् ।

यससँगै, सामसङले नयाँ ग्यालेक्सी जेड सिरिजलाई केवल नयाँ मोबाइल उत्पादनका रूपमा नभई कृत्रिम बुद्धिमत्ता, वित्तीय सुविधा, दूरसञ्चार सेवा, पुराना उपकरणको पुनःप्रयोग र ग्राहक सेवासहितको एकीकृत प्रविधि प्रणालीका रूपमा अघि बढाउने जनाएको छ।