
बाजुरा । गएराति परेको अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा परी सोही ठाउँकी २० वर्षीया प्रतिक्षा थापाको मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुराबाट खटिएको उद्धार टोलीले बिहान उनको शव फेला पारेको जनाएको छ ।
पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको बताइएको छ ।
घटनामा अन्य क्षति भए/नभएको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।