
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नागरिकले नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको हो ।
बिहीबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास भएका र नगरपालिकाबाट सिफारिस लिएर आएका नागरिकले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन् । सेवा लिन नागरिकता र मतदाता परिचयपत्रका आधारमा आफ्नो पहिचान खुलाउनुपर्नेछ ।
तर, नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधा पूर्ण रूपमा उपयोग गरिसकेपछि मात्र नगरपालिकाको यो सुविधा लागू हुनेछ । उपचार खर्चको ८५ प्रतिशत नगरपालिकाले व्यहोर्नेछ भने नेपाल मेडिकल कलेजले १५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।
उपचारका क्रममा आवश्यक औषधिको खर्च भने बिरामी आफैँले व्यहोर्नुपर्नेछ । रगत आवश्यक परेमा नगरपालिकाले प्रतिपिन्ट एक हजार १५० रुपैयाँसम्मको प्रयोगशाला परीक्षण शुल्क शोधभर्ना गर्ने व्यवस्था गरिएको छ ।
ओपीडीदेखि क्याथ ल्याबसम्म छुट:
सम्झौताअन्तर्गत नेपाल मेडिकल कलेजले गोकर्णेश्वर नगरवासीलाई ओपीडी दर्ता निःशुल्क गर्नेछ। अस्पतालका विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुटसमेत उपलब्ध गराइनेछ ।
छुट पाउने सेवामा प्रयोगशाला परीक्षण, जनरल बेड, एक्स-रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, डायग्नोस्टिक प्रोसेडर, दन्त सेवा, क्याथ ल्याब तथा इम्प्लान्टबाहेकका शल्यक्रियालगायत छन् ।
सम्झौता कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले आर्थिक अभावका कारण नगरवासी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा विभिन्न पहल भइरहेको बताए ।
उनले गोकर्णेश्वर नगरपालिकाले हालसम्म १३ वटा अस्पतालसँग सम्झौता गरी नगरवासीका लागि एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए ।
‘गोकर्णेश्वरवासी कोही पनि आर्थिक अभावमा उपचार नपाएर मर्नु पर्दैन । हामीले १३ वटा अस्पतालसँग सम्झौता गरेर एक लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरेका छौँ,” उनले भने ।
नगर प्रमुख रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरवका रूपमा रहेको बताए । कलेजकै कारण नगरवासीले सहज रूपमा स्वास्थ्य सेवा पाउनुका साथै नगरको स्वास्थ्य सुरक्षा र जनचेतनामा समेत सुधार आएको उनको भनाइ थियो ।
नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गोकर्णेश्वर नगरपालिकाले अघि सारेको स्वास्थ्यसम्बन्धी योजना अन्य स्थानीय तहका लागि समेत उदाहरणीय रहेको बताए । उनले यस्तो कार्यक्रम अन्य नगरपालिकाले पनि अनुशरण गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष अन्सारीले नेपालमा स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको आर्थिक अवस्थाअनुसार व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए। भारतमा गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य बीमा प्रभावकारी देखिएको उल्लेख गर्दै उनले नेपालमा पनि लक्षित वर्गलाई केन्द्रित गरेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कलेजका पूर्वअध्यक्ष डा. भोला रिजालले आर्थिक रूपमा कमजोर नागरिकलाई उपचारमा राहत पुर्याउने उद्देश्यले सम्झौता गरिएको बताए । एक लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले व्यहोर्दा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ठूलो राहत पुग्ने उनको भनाइ थियो ।
कलेजका सञ्चालक समिति सदस्य डा। आनन्दप्रसाद श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यले नागरिकलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरे । अर्का सञ्चालक सदस्य शाहनवाज अन्सारीले नगरपालिका र कलेजबीचको सहकार्यले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर बढाएको बताए ।
नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले कलेजले गोकर्णेश्वर नगरपालिकासँग विगत तीन-चार वर्षदेखि नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहकार्य गर्दै आएको जानकारी दिइन् ।
यस वर्ष सम्झौता गर्न केही ढिलाइ भए पनि नगरवासीलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउने व्यवस्था महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो । उनले आगामी दिनमा पनि नगरवासीको स्वास्थ्योपचारमा कलेजले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
नगर उपप्रमुख सान्नानी लामाले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गहनाका रूपमा रहेको बताइन् । नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै दक्ष चिकित्सक उत्पादनमा कलेजले खेलेको भूमिकाको उनले प्रशंसा गरिन् ।
नगरपालिका र नेपाल मेडिकल कलेजबीचको यो सहकार्यले आर्थिक अवस्था कमजोर भएका नगरवासीको उपचारमा पहुँच बढाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा स्थानीय नागरिकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारी, निर्देशक डा. राजेश किशोर श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्यायलगायत कलेजका फ्याकल्टी सदस्य तथा नगरवासी सेवाग्राहीको उपस्थिति थियो ।