
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । साउन २६ गतेदेखि सुरु भएको छदिने एक्स्पोमा पाँच दिनमै आयोजकले अपेक्षा गरेभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)का अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका थिए । यससँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या एक लाख ५० हजारभन्दा बढी पुगेको छ । नाइमाले छ दिनमा करिब डेढ लाख दर्शक सहभागी हुने अनुमान गरेको थियो ।
अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएको भन्दै एक्स्पोप्रति सर्वसाधारणको बढ्दो चासोप्रति खुसी व्यक्त गरेका छन् । आयोजकका अनुसार उद्घाटनको दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्नुका साथै ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना र सुविधा पनि अघि सारेका छन् । हालसम्म एक्स्पोमा ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन् ।
अवलोकनकर्ताले विशेषगरी विद्युतीय सवारीसाधनको ब्याट्री क्षमता, मोटर, चार्जपछि प्राप्त हुने रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनः बिक्री मूल्यबारे चासो देखाउँदै आएका छन् ।
दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ ।
एक्स्पोको मुख्य आकर्षणमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड, नयाँ विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन रहेका छन् । साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पो आज विभिन्न कार्यक्रमसहित समापन हुन लागेको हो ।