जाजरकोटमा पहिरोको जोखिम : २ सय स्थानीयवासीलाई सुरक्षित स्थानमा सारियो

दियोपोस्ट संवाददाता

जाजरकोट ।  जाजरकोटमा लगातारको वर्षापछि पहिरोको जोखिम बढेसँगै भेरी नगरपालिका-२ रिसाङ क्षेत्रका करिब २ सय स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

पहिरोको जोखिममा रहेका ६० देखि ७० घरपरिवारका नागरिकलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरी बसोबासको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झ्यालीखेत डाँडाका १६, चिसापानीका २०, राउटेरे डाँडाका १५ र रिसाङ फारुलाका १४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको हो।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त सशस्त्र प्रहरीसहितको टोली साउन ३१ गते बिहानैदेखि खोजीमा जुटेको हो ।जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित राख्न आवश्यक बासको समेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

अविरल वर्षा नरोकिएकाले क्षेत्रमा पहिरोको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ। प्रहरीले जोखिमयुक्त स्थानमा नबस्न, मौसमको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिइरहन तथा आवश्यक सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।