चितवनमा बस्ती पसेको बाघ नियन्त्रणमा, आक्रमणबाट एक जना घाइते

दियोपोस्ट संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघलाई सफलतापूर्वक नियन्त्रणमा लिइएको छ । बस्तीमा पसेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति सरक्षण कोषका कर्मचारी प्राविधिकहरूले हात्तीको सहितको टोली खटिएको थियो ।

उक्त टोलीले बाघलाई करिब साढे ११ बजे सफलतापूर्वक नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ ।

चितवनको राप्ती नगरपालिका-१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एक जना व्यक्ति तथा एक वटा जर्सी गाई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले राप्ती नगरपालिका-१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका हुन् ।

घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय चितवनको मध्यवर्ती तथा बस्ती नजिकका क्षेत्रमा बाघ देखिने र मानव-वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्थापनमा थप ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

सम्बन्धित खबर