
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा परेको हो ।
नागको तस्बिर घरको मूलढोकामा टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायतका जीवबाट दुःख नहुने तथा अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
नागपञ्चमीका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नागस्थान तथा मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । नागपोखरी, टौदह, नागदहलगायतका स्थानमा विशेष पूजा तथा धार्मिक गतिविधि भइरहेका छन् ।
नागपूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको धार्मिक मान्यता छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण पानीका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको बताइन्छ।
बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको संवाद भएकाले पनि यो दिन नागपूजाका लागि विशेष मानिन्छ। नागपञ्चमीका दिन नागलाई दूध, अक्षता, फूल, दुबोलगायतका सामग्री चढाएर पूजा गर्ने परम्परा छ।