विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य, जसपा नेपाल विपक्षमा

दियोपोस्ट संवाददाता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले दिउँसो १ बजेका लागि बोलाएको आठौँ अधिवेशनको १९औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची छ ।

सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेशसभाको विश्वास रहेको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले छलफल गरेपछि उठेका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ ।

नेपाली कांग्रेसले गत साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

लुम्बिनी प्रदेशसभामा हाल ८३ सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमत ४२ सांसदको समर्थन हो । नेकपा (एमाले) का २९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १३ सांसद रहे पनि नेकपाका सभामुखले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्रीलाई थप सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ ।

यसैबीच, विश्वासको मत लिनुअघि नै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक चुनौती थपिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री आचार्यले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।

यसअघि एमाले, नेकपा र राष्ट्रिय जनमोर्चाबीच लुम्बिनी प्रदेश सरकारलाई निरन्तरता दिने विषयमा सहमति बनेको थियो । एमाले र नेकपाबीचको सहमतिअनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने निर्णय भएको छ ।

विश्वासको मत प्राप्त भएपछि मात्रै सरकार विस्तार तथा मन्त्रालयको जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिने सत्तापक्षको तयारी छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयहरूको संरचना रहेको छ । नेकपाले विश्वासको मतपछि मात्रै सरकारमा सहभागी हुने तयारी गरेको जनाएको छ ।