मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी, भवनको छतमा चढेर विरोध

दियोपोस्ट संवाददाता

विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दी नाराबाजीसहित विरोधमा उत्रिएका छन् । सोमबार नियमित खानतलासीका क्रममा प्रहरीले कारागारभित्र सर्च अभियान सुरु गरेपछि कैदीबन्दीले विरोध जनाएका हुन् ।

कारागारभित्र लागूऔषधलगायत अवैध वस्तुहरूको खोजीका लागि सोमबार बिहानैदेखि व्यापक खानतलासी अभियान सञ्चालन गरिएको थियो । सोही क्रममा  विराटनगर-८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीले प्रशासनविरुद्ध नाराबाजी गर्दै विरोध गरेका हुन्।

कैदीबन्दीले कारागारभित्र आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने माग राख्दै भवनको छतमा चढेर नाराबाजी गरेका छन्।

प्रशासनका अनुसार कारागारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेला-बेलामा नियमित रूपमा खानतलासी गर्ने गरिएको छ । सोमबार पनि सोही नियमित प्रक्रियाअन्तर्गत मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविता कटवालसहितको सुरक्षा टोली कारागार पुगेको थियो।

खानतलासीका क्रममा केही शङ्कास्पद कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीसमेत गरिएको थियो । तर कैदीबन्दीहरूको चर्को विरोध र अवरोधका कारण तत्कालका लागि स्थानान्तरण प्रक्रिया रोकिएको जनाइएको छ।