आजदेखि देशभरका म्यानपावर बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया ठप्प

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरका म्यानपावर कम्पनीको सेवा बन्द गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि व्यवसायीहरूले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने कामसमेत बन्द गर्ने निर्णय गरेका हुन् ।

संघका अनुसार आजदेखि काठमाडौँस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा कार्यालय बन्द रहनेछन् । यस्तै, वैदेशिक रोजगारीका लागि गरिने नयाँ विज्ञापन, अन्तर्वार्ता तथा सम्पूर्ण रिक्रुटिङ प्रक्रिया पनि रोक्ने निर्णय गरिएको छ ।

पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम(कारोबारसमेत बन्द गरिने संघले जनाएको छ ।

संघले सेवा शुल्क परिमार्जनसहित १५ बुँदे माग अघि सारेको छ । माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । संघका अध्यक्ष डिकबहादुर खत्रीले सरकारसँग वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढाइरहेको बताएका छन् ।

शुक्रबार पनि संघ र मन्त्रालयबीच प्रारम्भिक चरणको छलफल भएको थियो । छलफलमा व्यवसायीहरूले आफ्ना मागबारे जानकारी गराउँदै धारणा राखेका थिए । मन्त्रालयका अधिकारीहरूले पनि माग सम्बोधनका लागि भइरहेको प्रगति तथा कार्य विवरणबारे आफ्नो धारणा राखेका थिए ।

संघले गत ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरी सरकारसमक्ष १५ बुँदे माग अघि सारेको थियो । ती मागमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई बुझाउने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेका कारबाही फिर्ता लिनुपर्ने लगायतका विषय समेटिएका छन् ।

माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने संघले जनाएको छ ।