
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीका देशभरका शाखा तथा उपशाखामा आबद्ध भई क्लब योजनाअन्तर्गत सफलता हासिल गरेका बीमा सल्लाहकारहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसहित उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले क्लब सदस्यहरूप्रति आभार व्यक्त गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।
कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा व्यवसायमा टिमको महत्त्वबारे चर्चा गर्दै टिममा रहेर सहकार्य र समन्वयका साथ काम गर्दा सफलता हासिल गर्न सहज हुने बताए।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कस्मस क्लबका विभिन्न योजनाहरू सञ्चालन गरेको थियो। क्लबमा सहभागी हुन वैयक्तिक कोड तथा टिम व्यवसायअन्तर्गत संकलन गर्नुपर्ने न्यूनतम बीमा शुल्कको लक्ष्य निर्धारण गरिएको थियो।
निर्धारित लक्ष्य पूरा गर्न सफल बीमा सल्लाहकारहरूले सम्बन्धित क्लबको सदस्यता प्राप्त गरेका थिए। कार्यक्रममा क्लबका सम्पूर्ण सहभागी तथा वैयक्तिक कोड र टिम व्यवसायअन्तर्गत देशभरबाट उत्कृष्ट तीनमा पर्न सफल बीमा अभिकर्ताहरूलाई कम्पनीले सम्मान गरेको थियो।