कैलालीमा ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

दियोपोस्ट संवाददाता

घोडाघोडी । कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ । सोमबार बिहान बर्दगोरिया गाउँपालिका-१ स्थित मुडा पुल नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको वडाध्यक्ष मिठुन गौतमले जानकारी दिए ।

वडाध्यक्ष गौतमका अनुसार मुडास्थित घरमा पूजाआजा सकेर बौनियातर्फ जाँदै गर्दा आफ्नै लेनमा स्कुटर चलाइरहेकी सापकोटालाई ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि दोदोधरा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार सापकोटाले चलाएको से १-०१-००१ ख नम्बरको स्कुटरलाई लु १-०१-०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको हो । ट्रक नवलपरासी ९बर्दघाट० का २६ वर्षीय दिनेश गिरीले चलाएका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय सुखडले ट्रक र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका तर्फबाट उम्मेदवारसमेत बनेकी थिइन् ।