
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन् ।
साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारअन्तर्गत गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट सामान खरिद गरेका उपभोक्ता बम्पर उपहारका विजेता बनेका हुन् । यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले उपहार जितेका छन् ।
सोमबार आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा।स्वर्णिम वाग्ले र अर्थसचिव डा। घनश्याम उपाध्यायले पुरस्कार विजेताको घोषणा गरेका हुन् ।
पछिल्लो १७ दिनको अवधिमा करदाता प्रोत्साहन उपहार योजनामा कुल ३ करोड २४ लाख ४३ हजार २२९ वटा कारोबार दर्ता भएका छन् । सोही कारोबारमध्येबाट १६ जना विजेता छनोट गरिएको विभागले जनाएको छ ।