किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो, आजै आदेश आउने

दियोपोस्ट संवाददाता

काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा भएको सुनुवाइको बहस सकिएको छ । श्रेष्ठको रिटमाथि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।

बहस सकिएसंगै सोही इजलासबाट फैसलाको तयारी भइरहेको बताइएको छ । बहसका क्रममा श्रेष्ठलाई हिरासतमा राखिएको कानुनी आधार तथा अनुसन्धानको प्रक्रिया लगायतका विषयमा छलफल भएको छ।

यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई हिरासतमा राख्नुको आधार र कारणसहित भदौ १ गते सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । इजलासले श्रेष्ठविरुद्ध परेको जाहेरीसहितको अनुसन्धान फाइल तथा उनको घर र कार्यालयबाट बरामद गरिएका सामग्रीसमेत अदालतमा पेस गर्न आदेश दिएको थियो ।

सोही आदेशअनुसार श्रेष्ठलाई आज बरामद गरिएका सामानसहित सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले श्रेष्ठको घर तथा जनआस्था साप्ताहिकको कार्यालयबाट सीपीयू, ल्यापटप, आइप्याड र मोबाइललगायत सामग्री बरामद गरेको थियो ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई अदालतमा उपस्थित गराउने आदेश दिएको थियो ।

यसैबीच काठमाडौं जिल्ला अदालतले आज श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यसअघि जिल्ला अदालतले अनुसन्धानका लागि उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

 

सम्बन्धित खबर

सिफारिस