
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अमेरिकी वार्तामा ओमानले अवरोध गरे उसमाथि सैन्य कारबाही गर्ने धम्की दिएका छन् । ट्रम्पको यस्तो चेतावनीले इरानसँगको तनाव चुलिएका बेला खाडी क्षेत्रमा थप सैन्य तथा कूटनीतिक तनाव बढाएको छ ।
फक्स न्युजसँग सोमबार भएको टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले इरान र ओमानबीच स्ट्रेट अफ होर्मुज (हर्मुज जलडमरूमध्य) सम्बन्धमा भइरहेको वार्ताबारे प्रश्न गरिएपछि ओमानलाई यस्तो चेतावनी दिएका हुन् । उनले ओमानले अमेरिकी प्रयासमा ‘अवरोध’ गरे आफूहरूले ओमानमाथि ठूलो मात्रामा बमबारी गर्ने आशय व्यक्त गरेका थिए ।
ओमान अमेरिका र इरानबीच लामो समयदेखि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको मुलुक हो । पछिल्लो समय इरानसँग उसले हर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाज आवतजावत सहज बनाउने विषयमा छुट्टै छलफल गरिरहेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईका अनुसार इरान र ओमानबीच जलडमरूमध्यमा जहाज आवतजावतका लागि मार्गसम्बन्धी समझदारी बनेको छ र त्यसको विवरणलाई अन्तिम रूप दिने काम भइरहेको छ।
हर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा व्यापारिक मार्गमध्ये एक हो । इरान र ओमानबीचको यो जलमार्गलाई कसरी सञ्चालन गर्ने भन्ने विषय अहिले अमेरिकी–इरानी तनावको प्रमुख मुद्दा बनेको छ । अमेरिकाले जलडमरूमध्य पुनः खुलाउन दबाब दिइरहेको छ भने इरानले त्यसका लागि थप सर्त पूरा हुनुपर्ने बताउँदै आएको छ ।
ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आवश्यक ठानेको सम्झौता तेहरानले स्वीकार नगर्ने बताएका छन् । उनले इरानलाई आत्मसमर्पण गर्नसमेत आह्वान गर्दै आफ्नो प्राथमिकता इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको दोहोर्याएका छन् । साथै, जुनमा भएको अन्तरिम समझदारीलाई थप लम्ब्याउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।
अमेरिका र इरानबीच भएको ६० दिने अन्तरिम समझदारीको अवधि सोमबार सकिएको छ । उक्त समझदारीले युद्धविराम कायम गर्दै इरानको आणविक कार्यक्रम, अमेरिकी प्रतिबन्ध र हर्मुज जलडमरूमध्यको भविष्यलगायत विषयमा थप वार्ताको आधार तय गरेको थियो । तर, जुलाईमै युद्धविराम कमजोर बनेपछि दुई पक्षबीच स्थायी समाधानको प्रयास अघि बढ्न सकेन ।
यसैबीच, अमेरिकी प्रशासनले हर्मुज जलडमरूमध्यमाथि आफ्नो प्रभाव बढाउने संकेतसमेत दिएको छ । ट्रम्पले यसलाई अमेरिकी ‘क्षेत्र’ का रूपमा घोषणा गर्न सकिने धारणा व्यक्त गरेका छन् । हर्मुज जलडमरूमध्य विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण भएकाले पछिल्लो घटनाक्रमले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढाएको छ ।
ट्रम्पको ओमानमाथिको धम्कीप्रति अमेरिकी राजनीतिमा पनि आलोचना सुरु भएको छ । सिनेटर टिम केनले ओमानविरुद्ध सैन्य कारबाही गर्न राष्ट्रपतिको अधिकार सीमित गर्ने उद्देश्यले ‘वार पावर्स रिजोलुसन’ अघि बढाउने तयारी गरेको जनाइएको छ। ओमान भने अमेरिकाको लामो समयदेखिको साझेदार तथा क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण मध्यस्थ मुलुक हो ।