संघीय सरकारका कर्मचारीले १५-१५ दिनमा तलब पाउने

दियोपोस्ट संवाददाता

काठमाडौँ । संघीय सरकार मातहतका राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् । यसअघि महिनाको अन्त्यमा एकमुष्ट रूपमा भुक्तानी हुँदै आएको तलब-भत्ता अब अर्धमासिक रूपमा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

महालेखा नियन्त्रक कार्यालयले अर्थ मन्त्रालयको निर्णयअनुसार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । अर्थमन्त्रीस्तरबाट २०८३ वैशाख ४ गते भएको निर्णयअनुसार यो प्रणाली लागू गर्न आवश्यक तयारी गरिएको बताइएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अर्धमासिक तलब भुक्तानीका लागि आवश्यक प्रणालीगत व्यवस्था मिलाइसकिएको छ । अब प्रत्येक महिनाको १५ दिन व्यतीत भएपछि कर्मचारीलाई तलब तथा भत्ता भुक्तानी गर्ने प्रक्रिया अघि बढ्नेछ ।

सरकारले यसअघि नै नयाँ प्रणालीको परीक्षणसमेत सुरु गरेको थियो । प्रारम्भिक चरणमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी गरेर प्रणाली परीक्षण गरिएको थियो। त्यसपछि संघीय सरकारअन्तर्गतका अन्य कार्यालयमा समेत व्यवस्था विस्तार गरिएको हो ।

नयाँ व्यवस्थाको उद्देश्य कर्मचारीको नियमित खर्च व्यवस्थापन सहज बनाउनुका साथै बजारमा नगद प्रवाह बढाउनु रहेको बताइएको छ। मासिक रूपमा एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थाको सट्टा दुई किस्तामा तलब वितरण गर्दा बजारमा नियमित रूपमा रकम प्रवाह हुने अपेक्षा गरिएको छ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार हाललाई यो व्यवस्था संघीय सरकारअन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि कार्यान्वयनमा ल्याइएको हो । प्रदेश र स्थानीय तहका कर्मचारीको हकमा भने सम्बन्धित तहले आवश्यक निर्णय गर्न सक्ने व्यवस्था रहेको छ। शिक्षकको हकमा बजेट निकासा प्रणाली फरक रहेकाले सम्बन्धित स्थानीय तहले आफ्नो अनुकूलतामा निर्णय गर्न सक्ने जनाइएको छ ।

यसैअनुसार नेपाल प्रहरीले पनि आगामी आर्थिक वर्षदेखि आफ्ना कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न मातहतका कार्यालयलाई निर्देशन दिइसकेको छ। प्रहरी प्रधान कार्यालयले महालेखा नियन्त्रक कार्यालयको पत्र तथा अर्थमन्त्रीस्तरीय निर्णयका आधारमा आवश्यक प्रणालीगत तयारी पूरा भइसकेको जनाएको छ ।

यससँगै लामो समयदेखि महिनामा एकपटक मात्र तलब पाउँदै आएका संघीय सरकारका कर्मचारीले अब महिनामा दुईपटक तलब प्राप्त गर्ने नयाँ प्रणाली सुरु भएको छ । महालेखा नियन्त्रक कार्यालयअन्तर्गतका केही जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले समेत संघीय कार्यालयलाई अर्धमासिक तलब भुक्तानी हुने व्यवस्था प्रणालीमा मिलाइएको सूचना जारी गरिसकेका छन् ।

सम्बन्धित खबर

सिफारिस