तिलगंगा अस्पतालको क्यान्टिनमा खाद्य विभागको छापा, कृत्रिम रंगयुक्त पकौडा नष्ट

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँको तिलगंगा आँखा अस्पतालको क्यान्टिन खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड विपरित पाइएको छ । गुडविल क्याटरिङद्वारा सञ्चालित उक्त क्यान्टिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनुगमनका क्रममा गुणस्तरसम्बन्धी मापदण्ड विपरित पाइएको हो ।

क्यान्टिनमा बनेको खानेकुरा खाएपछि ग्राहकलाई उल्टी भएको र विषादीको आशंका लागेको भन्ने गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले गत साउन २८ गते क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा भान्सामा कृत्रिम खाद्य रंग फेला परेको विभागले जनाएको छ ।

कृत्रिम खाद्य रंग प्रयोग गरी पकाइएको पकौडा र लामो समयदेखि पटक-पटक प्रयोग गरिएको तेल फेला परेपछि नष्ट गरिएको समेत विभागले जनाएको छ । विभागका अनुसार उक्त रंग प्रयोग गरी तयार पारिएको करिब पाँच प्लेट पकौडा बिक्रीका लागि राखिएको अवस्थामा भेटिएको थियो । त्यस्तै, खाद्य पदार्थ बारम्बार तार्न प्रयोग गरिएको करिब तीन लिटर तेलसमेत फेला परेको थियो । विभागले कृत्रिम रंग प्रयोग गरिएको पकौडा र उक्त तेल नष्ट गरेको जनाएको छ ।

अनुगमनका क्रममा क्यान्टिनमा भान्साको फोहोरदानी खुला अवस्थामा राखिएको, फ्रिजमा काँचो र पाकेको मासु खुला रूपमा सँगसँगै राखिएको तथा तरकारी खरिदको बिल उपलब्ध नभएको पनि भेटिएको थियो । साथै, सलाद निर्मलीकरण नगरेको र खाद्य पदार्थको ट्रेसाबिलिटी कायम नभएको विभागले जनाएको छ ।

विभागले क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छता कायम गरी खाद्य पदार्थ तयार गर्न, सलाद निर्मलीकरण गर्न तथा खाद्य पदार्थको ट्रेसाबिलिटी कायम गर्न निर्देशन दिएको छ। साथै, कृत्रिम खाद्य रंग प्रयोग नगर्न र खाद्य पदार्थ सुरक्षित तथा स्वच्छ रूपमा तयार गर्न समेत निर्देशन दिइएको छ ।