
काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएको छ । समितिले स्थलगत अध्ययन र छानबिन पश्चात प्रतिवेदन तथार गरि गृहमन्त्रीलाई बुझाएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच विवादपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा सर्वसाधारण तथा सुरक्षाकर्मीतर्फ गरी दर्जनौँ व्यक्ति घाइते भएका थिए ।
घटनापछि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो । पछि घटनामा गोली प्रहारको प्राविधिक पक्षसमेत अध्ययन गर्न प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई समितिमा थप गरिएको थियो ।
समितिले घटनास्थलको निरीक्षण गर्नुका साथै घाइते, पीडित, प्रत्यक्षदर्शी तथा सुरक्षा निकायका अधिकारीसँग जानकारी लिएको थियो । घटनाको पृष्ठभूमि, झडपको अवस्था, सुरक्षाकर्मीको परिचालन तथा बल प्रयोगको अवस्थालगायत विषयलाई छानबिनको दायरामा राखिएको थियो ।
देवानगञ्ज घटनापछि त्यसको प्रभाव मधेसका विभिन्न जिल्लामा समेत फैलिएको थियो । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन चर्किएपछि साउन १४ गते प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । सो क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
गोलबजार घटनाको छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य थिए ।
समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो । दुवै घटनापछि सरकारले पीडित परिवारसँग सहमति गर्दै राहत, रोजगारी, निःशुल्क शिक्षा तथा उपचारलगायतका व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो । साथै छानबिन समितिले दिने सुझाव र सिफारिस कार्यान्वयन गर्ने सहमतिसमेत भएको थियो ।