वैदेशिक रोजगारीको ठगी रोक्न संसदीय छानबिन समिति गठन गर्न ज्ञानेन्द्र शाहीको माग

दियोपोस्ट संवाददाता

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि अध्ययन गर्न संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा नेपालीहरू अलपत्र पर्ने क्रम बढेकाले यसको समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

यस राष्ट्रिय समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

उनले वार्षिक करिब ७ लाख युवा विदेश जाँदा झन्डै १ लाख ५० हजारभन्दा बढी मानिस ठगीमा पर्ने गरेको धारणा राखे । भिसा दिने र काम दिलाउने नाममा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यापक ठगी भइरहेको र ठगीलाई धन्दाकै रूपमा चलाइएको उनले बताए ।

ठगी गर्नेहरुलाई कडा कानुनी दायरामा ल्याउन विद्यमान कानुन अपर्याप्त भए तत्काल संशोधन गरेर भए पनि कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

सिफारिस