
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता सुरु भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख सेठले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका हुन् ।
चारदिने नेपाल भ्रमणका क्रममा रहेका जनरल सेठले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गरिसकेका छन् । प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल-भारतबीचको सुरक्षा तथा सैन्य सम्बन्धका विषयमा उच्च राजनीतिक तहमा हुने महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।
जनरल सेठ आइतबार नेपाल आएका हुन् । उनको भ्रमण नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा भएको हो । भ्रमणका क्रममा सोमबार राष्ट्रपति पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिने परम्परा सन् १९५० देखि कायम छ । यो परम्परालाई दुवै देशका सेनाबीचको ऐतिहासिक, सांस्कृतिक तथा सैन्य सम्बन्धको प्रतीकका रूपमा लिइन्छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पनि यो परम्पराले नेपाल-भारतबीचको लामो समयदेखिको सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा मैत्रीपूर्ण सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्ने बताएका छन् ।
सेठले सोमबार नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा आपसी हित तथा दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । उनले टुँडिखेलस्थित सैनिक मञ्चमा वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाको सम्मान गारत निरीक्षण गरेका थिए । भारतको सैन्य सहयोगअन्तर्गत नेपाली सेनालाई उपलब्ध गराइएका सैन्य तथा स्वास्थ्य सामग्रीसमेत उनले हस्तान्तरण गरेका थिए ।
भ्रमणका क्रममा जनरल सेठले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेजमा तालिमरत अधिकृतहरूसँग पनि अन्तरक्रिया गरेका छन् ।
जनरल सेठको नेपाल भ्रमण उनको सेनाध्यक्ष बनेपछिको पहिलो विदेश भ्रमणसमेत हो । तीनदिने भ्रमणको मुख्य उद्देश्य नेपाल-भारतबीचको रक्षा सहकार्य तथा दुई देशका सेनाबीचको सम्बन्ध थप मजबुत बनाउनु रहेको भारतीय तथा नेपाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भ्रमणका क्रममा गोर्खा सैनिक भर्तीसम्बन्धी विषयसमेत चासोको रुपमा हेरिएको छ ।
प्रधानमन्त्री शाहले हाल रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । त्यसैले भारतीय सेनाप्रमुखसँगको आजको भेटलाई दुई देशबीचको सैन्य सम्बन्धसँगै रक्षा सहकार्यका विषयमा राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवादका रूपमा समेत हेरिएको छ ।
जनरल सेठले प्रधानमन्त्री शाहसँगको भेटपछि बुधबार भारत फर्किने कार्यक्रम रहेको छ ।