बैँकको ‘केवाइसी’ अद्यावधिक गर्ने नाममा ठगी, चार जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । ‘केवाइसी अद्यावधिक’ गर्नुपर्ने भन्दै बैंकका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका-४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका-१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका-१७ का २२ वर्षीय विद्य‍ासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका-३ का २७ वर्षीय कुबेर थापा रहेका छन् ।

पक्राउ पर्नेमा बारा, देवताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका-१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका-१७ का २२ वर्षीय विद्याशागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका-३ का २७ वर्षीय कुबेर थापा रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ठगीमा संलग्नहरूले बैंकबाट फोन गरेको भन्दै पीडितलाई केवाइसी अद्यावधिक गर्नुपर्ने बहाना बनाउने गरेको आरोप छ । त्यसक्रममा ह्वाट्सएपमार्फत भिडियो कुराकानी गरी मोबाइलको पर्दा साझा गर्न लगाउने वा एकपटक प्रयोग हुने गोप्य संकेत नम्बर माग्ने गरेका थिए ।

उक्त गोप्य संकेत नम्बर प्राप्त गरेपछि सम्बन्धित व्यक्तिको बैंक खातामा अनधिकृत रूपमा पहुँच पुर्‍याई खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गर्ने गरेको पाइएको ब्युरोले जनाएको छ ।

उनीहरूलाई २०८३ साउन १९ गते पक्राउ गरी काठमाडौं ल्याइएको साइबर ब्युरोले जनाएको छ । पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

साइबर ब्युरोले बैंकका नाममा आउने अपरिचित फोन, सन्देश वा ह्वाट्सएप सम्पर्कमा विश्वास नगर्न तथा एकपटक प्रयोग हुने गोप्य संकेत नम्बर, पासवर्डलगायतका संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ ।

सम्बन्धित खबर

सिफारिस