
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज र सिरहाको गोलबजारमा भएका छुट्टाछुट्टै घटनामा मृत्यु भएका चारै जनालाई सुरक्षाकर्मीले चलाएको गोली लागेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयले गठन गरेका छुट्टाछुट्टै दुई समितिले घटनाको छानबिन गरी प्रतिवेदन बुझाउँदै चारै जनाको मृत्यु सुरक्षाकर्मीको गोलीबाट भएको निष्कर्ष निकालेका हुन् ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुवै घटनामा सुरक्षाकर्मीबाहेक अन्यत्रबाट गोली चलेको प्रमाण फेला परेको छैन । सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् । छानबिन प्रतिवेदनअनुसार घटनास्थलमा सुरक्षाकर्मीबाट कुल २० राउण्ड गोली चलेको पाइएको छ ।
घटना नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका प्रहरी सहायक निरीक्षक प्रकाशकुमार श्रेष्ठ खटिएका थिए । दुवै समुदायका मानिसले चिर्पट, ढुंगा, बाँस र लाठीबाट आक्रमण गर्न थालेपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
छानबिनका क्रममा प्रहरी निरीक्षक राईले गोली चलाएको र त्यसपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत गोली चलाएको खुलेको समितिको निष्कर्ष छ । सोही क्रममा मानवीय क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १८ वर्षीय गणेश यादवको मृत्यु भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । गोलबजारमा सशस्त्र प्रहरीले गोली चलाएको प्रमाण भने फेला नपरेको समितिले जनाएको छ ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गोलबजारमा सात राउण्ड डमी राउण्ड तथा पेस्तोलबाट दुई राउण्ड गोली चलेको पाइएको छ । भिड नियन्त्रणका लागि खटिएका प्रहरी निरीक्षक सुदन केसीले बोकेको पेस्तोलबाट गोली चलेको समितिको निष्कर्ष छ । प्रदर्शनकारीको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले साउन १५ गते केसीलाई गोलबजारबाट हटाएको थियो । अहिले त्यहाँ प्रहरी निरीक्षक दिपक खरेल कार्यरत छन् ।
दुवै घटनामा सुरक्षा व्यवस्थापनमा कमजोरी तथा सुरक्षाकर्मीको लापरवाही देखिएको भन्दै सम्बन्धित सुरक्षा अधिकृतलाई कारबाही गर्न समितिले सिफारिस गरेको छ । छानबिनमा संलग्न एक सदस्यका अनुसार सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने र लापरवाही गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्न सुझाव दिइएको छ ।
घटनापछि दुवै जिल्लामा भिडबाट समेत गोली चलेको अफवाह फैलिएको थियो । तर, छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट हतियार प्रयोग भएको पुष्टि हुन नसकेको जनाएको छ । छानबिनमा संलग्न एक अधिकारीले बाहिरबाट हतियार प्रयोग भएको नदेखिएको बताए ।
यसैबीच, सिरहाको लहान नगरपालिका-४ मा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरी सहायक हवल्दार नारद परियारलाई गोली लागेको प्रहरीको दाबीसमेत छानबिन समितिले अस्वीकार गरेको छ । प्रहरी प्रधान कार्यालयले परियारको दाहिने खुट्टामा घुँडामुनि गोली लागेको जनाएको भए पनि समितिको प्रतिवेदनमा उनलाई गोली नलागेको उल्लेख गरिएको छ ।
दुवै घटनाका मृतकलाई सरकारले सहिद घोषणा गरिसकेको छ । सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीचको विवादपछि उत्पन्न झडपको असर सिरहासम्म पुगेको थियो । सुनसरी घटनाबारे गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा नेतृत्वको समिति र गोलबजार घटनाबारे गृह मन्त्रालयकै सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो ।
दुवै समितिले घटनाको सामाजिक, धार्मिक तथा सुरक्षा पक्षको विश्लेषण गर्दै प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनमा घटनामा संलग्न विभिन्न पक्षको भूमिकाबारे उल्लेख गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन तथा अन्य आवश्यक उपायसम्बन्धी सुझावसमेत दिइएको छ ।