
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेपालका प्रदेश सभा सदस्यहरूलाई मन्त्री बनाइएकोप्रति अग्रगामी मोर्चाले आपत्ति जनाएको छ । मोर्चाले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कार्यको निन्दा गरेको हो ।
मोर्चाका प्रवक्ता डा. चन्द्रकान्त राउतद्वारा जारी विज्ञप्तिमा जसपा नेपालको निर्णय र निर्देशनविपरीत नेपाली कम्युनिष्ट पार्टी सम्मिलित नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकारले जसपाका प्रदेश सभा सदस्यहरूलाई मन्त्री पदको शपथ गराउनु आपत्तिजनक भएको उल्लेख गरिएको छ ।
त्यस्तै, भदौ १ गते प्रदेश सभामा सरकारको पक्षमा मतदान गराउने कार्यसमेत संसदीय व्यवस्था, लोकतान्त्रिक प्रणालीको मूल्य, मान्यता र मर्यादाविपरीत रहेको मोर्चाको ठहर छ । उक्त कार्यलाई मोर्चाले ‘अनैतिक तथा असंसदीय’ भन्दै घोर भर्त्सना र निन्दा गरेको छ । मोर्चाले यस्तो कार्य तत्काल सच्याउनसमेत आग्रह गरेको छ ।
यसैबीच, भदौ २ गते बसेको अग्रगामी मोर्चाको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
