बर्डफ्लूबाट क्षति व्यहोरेका काभ्रेका कृषकले पाउन थाले क्षतिपूर्ति

दियोपोस्ट संवाददाता

काठमाडौँ । काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण कुखुरा तथा अन्य पन्छी नष्ट गर्नुपरेका कृषकलाई क्षतिपूर्ति वितरण गर्न थालिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलका अनुसार बर्डफ्लू पुष्टि भएपछि पन्छी नष्ट गरिएका ३० कृषकमध्ये २० जनाले क्षतिअनुसारको राहत रकम प्राप्त गरिसकेका छन् ।

पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरका अनुसार बाँकी १० कृषकलाई चालु आर्थिक वर्षमा क्षतिपूर्ति उपलब्ध गराइनेछ । विभिन्न समयमा बर्डफ्लू पुष्टि भएपछि ती कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको थियो ।

काभ्रेपलाञ्चोकमा बर्डफ्लू नियन्त्रणका क्रममा गिरिराज, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँसलगायत ९० हजार २७५ पन्छी नष्ट गरिएको कार्यालयले जनाएको छ । यसैगरी ३८ हजार १८३ अण्डा, १० हजार २१० किलो दाना र पाँच हजार २७५ क्रेट समेत नष्ट गरिएको थियो ।

विशेषगरी बनेपा, पनौती र पाँचखाल क्षेत्रमा रहेका विभिन्न पोल्ट्री फार्ममा बर्डफ्लू सङ्क्रमण देखिएको थियो । कोशी प्रदेशबाट २०८२ चैतमा सुरु भएको बर्डफ्लूको प्रकोप असार मसान्तसम्म काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लामा फैलिएको थियो ।

उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकमा बिपी तथा अरनिको राजमार्गलगायत सहायक सडक र खुला नाकाबाट पन्छी तथा पन्छीजन्य सामग्री भित्रिने भएकाले सङ्क्रमणको जोखिम बढेको ठाकुरले बताए । बर्डफ्लू परीक्षण र पुष्टि गर्न लाग्ने समय, सङ्क्रमित पन्छी नष्ट गर्ने प्रक्रियालगायत कारणले कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।

मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिले समेत सङ्क्रमण फैलिन मद्दत गरेको कार्यालयको निष्कर्ष छ। त्यस्ता मरेका पन्छीबाट काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण फैलिएको हुनसक्ने ठाकुरले बताए ।

हाल जिल्लाका नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार गरिने कुखुराको निगरानी र नियन्त्रणलाई समेत कडाइ गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस