
काठमाडौँ । पार्टीको निर्देशनविपरीत नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई सहयोग गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोषकमार पाण्डेयले प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई स्पष्टीकरण सोधेका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले मागेको विश्वासको मतका पक्षमा मतदान गर्न संसदीय दलले निर्णय गरी ह्वीप जारी गरे पनि काफ्ले त्यसअनुसार मतदान नगरेको भन्दै पाण्डेयले स्पष्टीकरण मागेका हुन् ।
संसदीय दलले काफ्लेलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । स्पष्टीकरणपत्रमा भदौ १ गते प्रदेश सभामा प्रस्तुत मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय संसदीय दलले गरेको र सोहीअनुसार ह्वीप जारी गरिएको उल्लेख छ ।
दलको निर्णय र निर्देशनविपरीत काम गरेको भन्दै काफ्लेसँग तीनवटा विषयमा जवाफ मागिएको छ । काफ्लेलाई आफू जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको सदस्य भए नभएको, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दलले जारी गरेको निर्देशन पालना नगर्नुको कारण र दलको निर्देशन पालना गर्नु आफ्नो दायित्व भए नभएकोबारे स्पष्ट पार्न भनिएको छ ।
मुख्यमन्त्री आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा उनको पक्षमा ४५ मत परेको थियो भने विपक्षमा २६ मत परेको थियो । जसपा नेपालले आचार्यको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
यसैबीच, जसपा नेपाल केन्द्रीय कार्यालयले पनि मंगलबार संसदीय दलका नेता पाण्डेयलाई स्पष्टीकरण सोधेको छ । पार्टी निर्देशनविपरीत प्रदेश सरकारलाई विश्वासको मत दिएको तथा सरकारमा सहभागी भएको विषयमा सात दिनभित्र कारण पेस गर्न केन्द्रले निर्देशन दिएको हो ।
केन्द्रीय नेतृत्वले मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए पार्टीको निर्णयअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । यससँगै लुम्बिनीमा जसपा नेपालभित्र प्रदेश संसदीय दल र पार्टी केन्द्रबीचको विवाद थप सतहमा आएको छ ।