
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाहीले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफल भएपछि विश्वासको मत लिने कार्यसूची तय भएको हो ।
विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबीच छलफल हुने भएको छ । नेकपाका नेता कालीबहादुर मल्लका अनुसार विश्वासको मत, सत्ता समीकरण तथा आगामी सरकार सञ्चालनका विषयमा दुई दलबीच छलफल हुन लागेको हो ।
एमाले र नेकपाबीचको छलफलपछि सत्ता समीकरण तथा विश्वासको मतका विषयमा अन्य दलहरूसँग पनि छलफल गर्ने तयारी छ ।