कोलकाताको होटलमा आगलागी : ९ जनाको मृत्यु, ६ घाइते

दियोपोस्ट संवाददाता

एजेन्सी । भारतको कोलकातास्थित एक होटलमा बुधबार बिहान सबेरै भएको भीषण आगलागीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतकमध्ये एक चार वर्षीय बालकसमेत रहेको प्रहरीले जनाएको छ।

भारतीय मिडियाहरुका अनुसार मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित पाँचतले भवनमा बुधबार बिहान करिब १ः४५ बजे आगलागी भएको थियो । आगलागीको सूचना पाएलगत्तै पाँचवटा दमकल घटनास्थलमा पुगेका थिए।

प्रहरी, अग्निनियन्त्रक तथा विपद् व्यवस्थापन विभागका टोलीले तत्काल उद्धार कार्य सुरु गरेका थिए। अधिकारीहरूका अनुसार भवनबाट करिब ८० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। आगो नियन्त्रणमा लिएपछि अहिले भवनलाई चिसो पार्ने काम भइरहेको जनाएको छ ।

पश्चिम बंगालका अग्निनियन्त्रक मन्त्री कौशिक चौधरीले मृतकमध्ये भारतीय र बंगलादेशी नागरिकसमेत रहेको बताएका छन् । घटनास्थलको निरीक्षणपछि उनले भवन कमजोर अवस्थामा रहेको र त्यहाँ सञ्चालित होटलहरूमा सुरक्षा तथा सञ्चालनसम्बन्धी विभिन्न अनियमितता देखिएको बताएका छन्।

प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण सर्ट सर्किट हुन सक्ने आशंका गरिएको छ । यद्यपि, फोरेन्सिक अनुसन्धानपछि मात्रै आगलागीको वास्तविक कारण पुष्टि हुने अधिकारीहरूले बताएका छन् । भवन व्यवस्थापनले आवश्यक सुरक्षा तथा निर्माणसम्बन्धी नियम पालना नगरेको हुन सक्ने पनि मन्त्री चौधरीले बताएका छन्।

होटलमा बाक्लो धुवाँ भरिएकाले अग्निनियन्त्रकहरूलाई माथिल्लो तलासम्म पुगेर उद्धार गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएकाहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्रहरीले घटनामा मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने आशंका गरेको छ। अहिले भवनमा फसेका व्यक्तिहरूको खोजी तथा उद्धार र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर