
काठमाडौँ । टाटा मोटर्सको कुनै पनि पुरानो गाडी दिएर नयाँ पन्च ईभी र नयाँ टियागो ईभी लिन सकिने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि आयोजना गर्न लागेको टाटा कार्निभलको चौथो संस्करणमा यस्तो सुविधा ल्याएको हो।
भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो पुरानो टाटा गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी नयाँ पन्च ईभी वा टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
कार्निभल अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकले विशेष सहुलियतसमेत पाउनेछन् । कम्पनीका अनुसार ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान सुविधा पाउनेछन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो । नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तथा नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

एक्टि.ईभी प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
पन्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५ -स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १ दशमलव ५ सी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६ दशमलव ०३ सेन्टिमिटरको हरमन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन्।
दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा, २६ दशमलव ०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।