रास्वपा संसदीय दल बैठकमा रविको ‘एक्सन’, बालेन अनुपस्थित

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरू अनिवार्य रूपमा उपस्थित भएका छन् ।

संसदमा रास्वपाका सांसदहरूको उपस्थिति तथा गतिविधि अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको विषयमा सभापति लामिछानेले संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा सदनभित्र सांसदहरूको भूमिका, उपस्थिति, पार्टीको प्रस्तुति तथा आगामी संसदीय रणनीतिबारे छलफल हुने बताइएको छ ।

यस्तै, पछिल्ला राजनीतिक तथा संसदीय गतिविधिको समीक्षा गर्दै सरकारको कामकारबाहीबारे समेत बैठकमा छलफल हुने जनाइएको छ । विशेषगरी संसदमा रास्वपाका सांसदहरूको प्रभावकारी भूमिका कसरी बढाउने भन्ने विषयमा लामिछानेले आवश्यक निर्देशन दिने तयारी गरेका छन् ।

रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइए पनि पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भने बैठकमा सहभागी भएका छैनन् ।

यसअघि पनि रास्वपाको संसदीय दलका बैठकहरूमा प्रधानमन्त्री शाह र सभापति लामिछानेसहित सांसदहरू सहभागी हुँदै आएका थिए । गत वैशाखमा बसेको संसदीय दलको बैठकमा भने शाह स्वयं सहभागी भएका थिए ।

आजै प्रतिनिधिसभाको बैठकसमेत बस्ने कार्यतालिका रहेकाले त्यसअघि रास्वपा संसदीय दलको बैठक बसेको हो । संसद्मा पार्टीका सांसदहरूको उपस्थिति, अभिव्यक्ति र भूमिकालाई लिएर पछिल्लो समय बहस भइरहेका बेला लामिछानेले दलभित्र सक्रियता बढाएका हुन् ।