एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, १५ दिनभित्र सुझाव दिन निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै उक्त मस्यौदामाथि सरोकारवाला सबैसँग राय, सुझाव तथा प्रतिक्रिया माग गरेको हो ।

दूरसञ्चारसम्बन्धी विद्यमान कानूनलाई समयानुकूल परिमार्जन गर्दै कार्यान्वयन संयन्त्रलाई प्रभावकारी बनाउने उद्देश्यले नीतिको मस्यौदा तयार पारिएको प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार सेवालाई गुणस्तरीय, सुरक्षित, भरपर्दो र सर्वसुलभ बनाउँदै विभिन्न क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगमार्फत डिजिटल रूपान्तरण गरी देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा तयार गरिएको हो ।

प्राधिकरणले मस्यौदा आफ्नो वेबसाइट www.nta.gov.np मार्फत सार्वजनिक गरेको जनाएको छ । सार्वजनिक गरिएको मस्यौदामाथि सम्बन्धित सरोकारवालाले सार्वजनिक भएको मितिले १५ दिनभित्र  राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको छ ।