भारतीय सेना प्रमुख धीरज सेठ स्वदेश फिर्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किएका छन् । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेनाध्यक्ष सेठ बुधबार अपराह्न स्वदेश फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले विदाइ गरेका थिए ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । त्यसैगरी, मंगलबार उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा सेनाध्यक्ष सेठ नेपाली सेनाद्वारा आयोजित विभिन्न कार्यक्रममा समेत सहभागी भएका थिए ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशबीच रहँदै आएको सैनिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन सहयोग पुगेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस