काठमाडौँका होस्टेल र खाजा घरमा खाद्य विभागको अनुगमन, ‘न्यु फ्यामिली गर्ल्स होस्टेल’लाई ३ लाख जरिवाना

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका विभिन्न होस्टेल तथा खाजा घरमा अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न स्थानमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विभागले सरसफाइमा लापरबाही, खाद्य पदार्थको अव्यवस्थित भण्डारण तथा कृत्रिम खाद्य रंगको प्रयोगलगायतका कैफियत फेला पारेको छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माका अनुसार अनुगमनका क्रममा खाद्य स्वच्छता तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड पालना नगरेका व्यवसायलाई कारबाही तथा सुधारका लागि निर्देशन दिइएको छ ।

काठमाडौँ महानगरपालिका-३२, बालकुमारीस्थित न्यु फ्यामिली गर्ल्स होस्टेलमा सरसफाइको अवस्था सन्तोषजनक नरहेको, भान्सा अव्यवस्थित रहेको तथा भेज र ननभेज खाद्य पदार्थ छुट्टाछुट्टै काट्ने र पकाउने व्यवस्था नरहेको पाइएको थियो । भण्डारण कक्षमा झिंगा तथा भुसुना भेटिनुका साथै कीट नियन्त्रणको समेत उचित व्यवस्था नभएको अनुगमन टोलीले जनाएको छ ।

होस्टेल दर्ता नगरी सञ्चालन गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना समेत गरेको छ। साथै होस्टेल अव्यवस्थित र जीर्ण अवस्थामा रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त होस्टेल बन्द गर्न निर्देशन दिएको छ ।

यसैगरी टोखा नगरपालिका-९, विष्णुमती करिडोर क्षेत्रमा रहेको ‘मेरिना खाजा घर’मा पनि विभागले छापा मारेको छ । खाजाघरमा सरसफाइको अवस्था कमजोर रहेको पाइएको छ। फ्रिजमा शाकाहारी, मांसाहारी, काँचो तथा पकाएको खाद्य पदार्थ एकै ठाउँमा राखिएको र खाद्य पदार्थलाई पत्रिकाले छोपेर भण्डारण गरिएको भेटिएको बिभागले जनाएको छ ।

उक्त खाजा घरमा कृत्रिम खाद्य रंग प्रयोग गरी तयार पारिएका चिकेन लेगपिस, पखेटा, चिकेन खुट्टा र माछालगायत करिब ९ किलो ५ सय ग्राम खाद्य पदार्थ बिक्रीका लागि राखिएको पाइएको थियो । ती खाद्य पदार्थ नष्ट गरी कैफियत सुधार गरेर सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सोही स्थानमा रहेको ‘रामु खाजा घर’मा पनि सरसफाइ तथा व्यक्तिगत सरसफाइको अवस्था सन्तोषजनक नरहेको, फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको र कृत्रिम खाद्य रंग प्रयोग गरी तयार पारिएका चिकेन लेगपिस, पखेटा, आलु चप, चिकेन ललिपप तथा माछा बिक्रीका लागि राखिएको भेटिएको थियो। अनुगमन टोलीले करिब १४ किलो खाद्य पदार्थ स्थानीय तहको रोहबरमा नष्ट गरेको छ ।

त्यस्तै ‘सुर्खेत गुर्भाकोट खाजा घर’मा फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको, फोहोरदानी खुला छाडिएको तथा कृत्रिम खाद्य रंग प्रयोग गरिएका चिकेन लेगपिस, आलु चप, चिकेन खुट्टा र माछा बिक्रीका लागि भण्डारण गरिएको पाइएको थियो। त्यहाँबाट करिब ५ किलो ५ सय ग्राम खाद्य पदार्थ नष्ट गरिएको विभागले जनाएको छ ।

टोखा नगरपालिका-९, विष्णुमती करिडोर क्षेत्रमा रहेको ‘केटिएम खाजा घर’मा समेत बिभागले छापा मारेको थियो । भान्सा र भाँडा सफा गर्ने स्थान एकै ठाउँमा रहेको तथा अत्यन्त साँघुरो अवस्थामा सञ्चालन भइरहेको पाइएको थियो। फोहोरदानी खुला रहेको र आलु चपमा कृत्रिम रंग प्रयोग गरिएको भेटिएको थियो। त्यस्तै, नछोपिएको करिब एक किलो मासुमा झिंगा भन्किरहेको अवस्थामा भेटिएपछि उक्त मासु तथा १०० ग्रामको एक थान कृत्रिम खाद्य रंग नष्ट गरिएको छ ।

अनुगमनका क्रममा कैफियत भेटिएका सबै खाजा घरलाई सुधारका लागि सात दिनको समय दिइएको विभागले जनाएको छ । खाद्य पदार्थमा कृत्रिम रंगको प्रयोग, अस्वच्छ वातावरण तथा काँचो र पकाएको खाद्य पदार्थलाई अव्यवस्थित रूपमा भण्डारण गर्ने प्रवृत्तिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले विभागले अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस