
काठमाडौँ । केन्याको उत्तरी क्षेत्रमा वन्यजन्तु अवलोकनका क्रममा हेलिकप्टर दुर्घटना हुँदा पाँच अमेरिकी नागरिकसहित सात जनाको मृत्यु भएको छ । बुधबार बिहान साम्बुरु काउन्टीको दुर्गम क्षेत्रमा भएको दुर्घटनामा हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको केन्याली अधिकारीहरूले पुष्टि गरेका छन् ।
केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान ९ः१३ बजे भएको हो । लोसाबा संरक्षण क्षेत्रबाट साम्बुरु काउन्टीको इवासो न्यिरो क्षेत्रतर्फ उडिरहेको हेलिकप्टर माउन्ट ओलोलोक्वे नजिकैको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा एक चालक र छ यात्रु गरी सात जना सवार थिए।
दुर्घटनामा मृत्यु हुनेमा चार अमेरिकी तथा एक अमेरिकी-इक्वेडरियाली नागरिकसहित इक्वेडरका एक अधिकारी र केन्याली चालक रहेका छन् । मृतकमध्ये अमेरिकी नागरिक रोजर एडवार्ड डुआर्टे, एडम मार्टिन हलाभाटी, हेनरी पार्रा र जोसे अल्बेर्टो सुवारेज रहेका छन् । अमेरिकी–इक्वेडरियाली नागरिक स्टेफानी होलिहान र उनका पति इक्वेडरको राष्ट्रिय गुप्तचर केन्द्रका प्रमुख मिचेल सेन्सी-कन्टुगीको पनि दुर्घटनामा मृत्यु भएको छ। हेलिकप्टरका चालक जोस आउट्रम पनि घटनामा मारिएका छन् ।
मृतक जोसे अल्बेर्टो सुवारेज अमेरिकी स्पेनी भाषाको टेलिभिजन सञ्जालसँग आबद्ध वरिष्ठ अधिकारी थिए। त्यस्तै मिचेल सेन्सी-कन्टुगी इक्वेडरको राष्ट्रिय गुप्तचर सेवाका प्रमुख थिए ।
दुर्घटनामा परेको हेलिकप्टर ‘युरोकप्टर ईसी-१३० बी४’ रहेको र त्यसलाई ‘लेडी लोरी हेलिकप्टर्स’ नामक कम्पनीले सञ्चालन गर्दै आएको जनाइएको छ । हेलिकप्टर भाडामा लिएर सञ्चालन गरिएको उडानमा पर्यटकहरू सवार रहेको बताइएको छ ।
दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । केन्या नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनास्थल अत्यन्तै दुर्गम क्षेत्रमा रहेकाले उद्धार तथा शव संकलनमा कठिनाइ भएको थियो । दुर्घटनापछि हेलिकप्टरमा आगलागीसमेत भएको जनाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले दुर्घटनामा पाँच अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । केन्यास्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।
लोसाबा संरक्षण क्षेत्र उत्तरी केन्याको प्रमुख वन्यजन्तु क्षेत्रमध्ये एक हो । यहाँ विश्वका विभिन्न मुलुकबाट पर्यटकहरू वन्यजन्तु अवलोकन तथा प्राकृतिक सौन्दर्यको अनुभव लिन पुग्ने गर्छन् । हेलिकप्टरमार्फत दुर्गम क्षेत्रको भ्रमणसमेत पर्यटकका लागि लोकप्रिय रहेको बताइएको छ ।