नाडा अटो शोको आकर्षण : एआई र रोबोटिक्सदेखि ‘मेड इन नेपाल’ सम्म

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  यसपटकको नाडा अटो शो विशेष र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने १८औँ नाडा अटो शो २०२६ मा एआई, रोबोटिक्स, डिजिटल प्रविधि र ‘मेड इन नेपाल’लाई विशेष प्राथमिकता दिइने भएको हो ।

करिब ३ लाख वर्गफिट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा २ सय भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहने नाडाले जनाएको छ ।

यसपटकको अटो शोमा सवारीसाधनसँगै रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई समेत विशेष प्राथमिकता दिइनेछ ।

नाडाका महासचिव मिलन बाबु मल्लले अटोमोबाइल क्षेत्र अहिले पेट्रोल-डिजेलबाट विद्युतीय सवारीसाधनतर्फको संक्रमणसँगै एआई, कनेक्टिभिटी र अटोमेसनको प्रयोग बढिरहेको अवस्था रहेको बताए । सोही परिवर्तनलाई प्रदर्शनीमार्फत देखाउन खोजिएको पनि उनले बताए ।

अटो शोमा दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ-२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । त्यस्तै, सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गरी एआई प्रविधिमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल रूपमा प्राप्त गर्न सकिने व्यवस्था पनि गरिँदैछ ।

मेड इन नेपाल’ लाई विशेष प्राथमिकता

यस वर्षको अटो शोको अर्को आकर्षण ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन रहनेछ । अटो शोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ ।

नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पार्ट्ससमेत उक्त प्याभिलियनमा राखिनेछ ।

नाडाले यस वर्षको अटो शोको मूल नारा ‘उद्योगदेखि रोजगारसम्म’ राखेको छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ । यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारी जोडिएको नाडाको दाबी छ ।

ईभीसँगै नीतिगत बहस

अटो शोमा विद्युतीय सवारीसाधन (ईभी) को उपस्थिति उल्लेख्य रहने आयोजकले जनाएको छ । विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन् ।

स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियमसमेत आयोजना गरिनेछ । ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र नीतिगत स्थिरताका विषयमा समेत बहस गरिने नाडाले जनाएको छ ।

करिब २ लाख दर्शक आउने अपेक्षा

६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ । भीड व्यवस्थापनका लागि नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्कलगायतका स्थानमा पार्किङको व्यवस्था गरिनेछ ।

बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ । प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्कको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ ।

आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको नाडाले जनाएको छ ।

नाडाको ५०औँ स्थापना वर्षमा आयोजना हुन लागेको १८औँ अटो शोले नयाँ सवारीसाधनको प्रदर्शनसँगै नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था, प्रविधिको विकास, स्वदेशी उत्पादन र आगामी दिशाबारे समेत बहसको वातावरण तयार गर्ने आयोजकको अपेक्षा छ ।

सम्बन्धित खबर