
काठमाडौँ । सहकारीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिनामा संलग्न रहेको आरोप खेपिरहेका नेकपा एमालेका सांसद ज्ञानबहादुर तामाङ बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन् ।
काठमाडौँको सामाखुसीस्थित नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष तथा सञ्चालकसमेत रहेका तामाङलाई मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारमा बिना विभागीय मन्त्री बनाइएको हो ।
एमालेबाट समानुपातिक सांसद बनेका तामाङले बिहीबार मन्त्री पदको शपथ लिएका छन् । उनलाई तत्कालका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गराइएको छ ।
तामाङमाथि आफू सहकारीको अध्यक्ष रहेका बेला बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । उनी २०७२ देखि २०७८ सम्म सहकारीको अध्यक्ष थिए । सहकारी ठगीको आरोप सार्वजनिक भएपछि उनी लामो समय सम्पर्कविहीनसमेत बनेका थिए ।
तामाङ अध्यक्ष हुँदा बचतकर्तालाई उच्च ब्याज दिने प्रलोभन देखाएर रकम संकलन गरेको र नुवाकोटको लिखु गाउँपालिका–९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेको आरोप छ । उक्त जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीको नाममा करिब १४ करोड रुपैयाँ ऋण लिइएको बताइएको छ ।
तामाङपछि २०७९ पुस २९ गतेदेखि राजकुमार लामा सहकारीको अध्यक्ष छन् । तामाङले सुरु गरेको आर्थिक गतिविधिलाई पछिल्ला पदाधिकारीले पनि निरन्तरता दिएको आरोप लगाइएको छ ।
नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका ९६४ सदस्यले आफूहरूको एक अर्ब आठ करोड ६४ लाख रुपैयाँ बचत फिर्ता पाउनुपर्ने मागदाबी गरेका छन् । सहकारीको कुल हिनामिना रकम भने दुई अर्ब रुपैयाँभन्दा बढी रहेको आरोप छ ।
समस्या बढ्दै गएपछि बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८१ पुस २९ गते नेशनल नमोबुद्ध सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।