
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा उदयपुरका पर्वत कुमार कार्की नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए ।
कार्कीले नेपाल राष्ट्र बैंकमा लामो समय काम गर्नुका साथै नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत जिम्मेवारी सम्हालेका छन् ।
उनले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन् ।