अमेरिकाको अलास्कामा चार्टर विमान दुर्घटनाग्रस्त, आठ जना सम्पर्कबिहिन

दियोपोस्ट संवाददाता

अलास्का । अलास्का राज्यको पश्चिमी क्षेत्रमा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ । संघीय अधिकारीहरूका अनुसार विमान बिहीबार स्थानीय समयअनुसार दिउँसो केप न्युवेनहम लङ रेन्ज राडार साइट नजिकै दुर्घटनाग्रस्त भएको हो ।

उक्त स्थान पश्चिमी अलास्काको अत्यन्त दुर्गम क्षेत्रमा पर्छ । विमान जमिनमै खसेको बताइएको छ । राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)को अलास्का क्षेत्रका प्रमुख क्लिन्ट जोन्सनका अनुसार दुर्घटनाग्रस्त विमानमा दुई जना पाइलट र छ जना यात्रु सवार थिए । विमान एन्कोरेजबाट केप न्युवेनहमतर्फ उडेको थियो । अवतरणका क्रममा बिहीबार दिउँसो विमान दुर्घटनामा परेको र विमानमा सवार आठ जना सम्पर्कबिहिन अधिकारीहरूले दिएका छन् ।

घटनापछि अलास्का रेस्क्यु कोअर्डिनेसन सेन्टरले खोज तथा उद्धार अभियान सुरु गरेको छ। घटनास्थलमा एनटीएसबी, अलास्का स्टेट ट्रुपर्स तथा अन्य उद्धार टोली परिचालन गरिएको अधिकारीहरूले बताएका छन् । अलास्का एयर नेसनल गार्ड पनि उद्धार कार्यमा सहभागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा परेको विमान जुम्ल्याहा इन्जिनयुक्त सेस्ना विमान रहेको र यसलाई सेक्युरिटी एभिएसनले सञ्चालन गरेको बताइएको छ। प्रारम्भिक विवरणअनुसार विमान एन्कोरेजबाट केप न्युवेनहम जाने चार्टर उडानमा थियो ।

यद्यपि विमानमा सवार आठै जनाको अवस्थाबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। अधिकारीहरूले प्राप्त विवरण प्रारम्भिक रहेको जनाउँदै दुर्घटनाको कारण र यात्रु तथा चालक दलका सदस्यहरूको अवस्थाबारे थप अनुसन्धान तथा उद्धार कार्यपछि मात्रै यकिन जानकारी आउने बताएका छन्।

सिफारिस